Sat. May 11th, 2024

बडादशैंको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै

- आज फूलपाती

भिओके समाचार/काठमाण्डू, २०८० कात्तिक ४ गते शनिबार । नेपालीहरुको महान चाड बडादशैंको सातौँ दिन आज कालरात्रि देवीको पूजा आराधना गरिँदै छ ।

नवरात्रको सातौँ दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको पूजा-आराधना गरिन्छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्णवर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

आजको दिनलाई फूलपाती पनि भनिन्छ । आज दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ। यो अवसरमा काठमाडौंको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याउने गरिन्छ ।

गोरखा दरबारबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याउने परम्परा अहिले पनि कायम छ । फूलपातीकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले हर्षबढाइँ गर्छ। यसको अवलोकनका लागि राष्ट्रप्रमुख, सरकारप्रमुख तथा अन्य संवैधानिक अंगका प्रमुखको उपस्थिति रहने गरेको छ ।

Facebook Comments