Wed. Dec 25th, 2024

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

काठमाण्डू, २०८० असोज २९ गते सोमबार । तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी पैचिङ प्रस्थान गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थानका क्रममा अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराईले बिदाइ गर्दै । तस्बिर : नवीन पौडेल, रासस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाई गर्नुभयो ।
मङ्गलबार र बुधबार पैचिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ । सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले आयोजना गर्नुहुने रात्रिभोजमा उपप्रधानमनत्री श्रेष्ठ सहभागी हुनुहुनेछ । सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुनुहुने बताइएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टाई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ । रासस
Facebook Comments