Sat. May 18th, 2024

ग्रेटर नेपालको प्रश्न- नेपाली भूभागमा प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कसरी सम्भव भयो ?

- कालापानीमा नरेन्द्र मोदी

रमेश हतुवाली/काठमाण्डू, २०८० असोज २६ गते शुक्रबार । हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको नेपाली भूभाग कालापानीको भ्रमणको विषयलाई लिएर ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सो भ्रमण कसरी सम्भव भयो भनि सरकारसँग प्रश्न गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले आज एक विज्ञप्ति जारी गर्दै यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र् मोदीलाई नेपालको कुन निकायले अनुमति दिएको हो भनि प्रश्न गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही असोज २५ गते बिहान कालापानी क्षेत्रको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा मोदीले कालापानीस्थित पार्वती कुण्डमा केही समय ध्यानसमेत गर्नुभएको फोटो सार्वजनिक भएको थियो । मोदीको यो भ्रमणबारे पूर्व जानकारी नभएको सरकारले जनाएको थियो ।

नेपाल सरकारलाई पूर्वजानकारी नदिई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूभाग कालापानीको भ्रमण गर्नु आपत्तिजनक रहेको विज्ञहरुले बताएका छन् ।

वामबुद्धिजीवि तथा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी क्षेत्रको भ्रमण भारतको बलमिच्याइँ भएको प्रतिक्रिया दिनुभएको छ । कालापानी नेपाली भूभाग हो भन्ने जानकारी मोदीलाई नभएर उहाँले सो क्षेत्रको भ्रमण गरेको नभई कालापानीको रणनीतिक महत्व देखेर नै सो भ्रमण गरिएको कार्कीको धारणा छ । नेपालको स्वतन्त्रता र सार्वभौमिकता जोडिएको यस्तो सम्वेदनशिल विषयमा सरकार नबोल्नु गम्भिर विषय भएको पनि पूर्वराजदूत कार्कीले बताउनु भयो ।

पूर्वप्राध्यापक तथा चीन अध्ययन केन्द्रका महासचिव डाक्टर उपेन्द्र गौतमले भारतीय प्रधानमन्त्री मोदीको नेपाली भूभाग कालापानीको भ्रमण तीर्थयात्रीको रुपमा नभएर सो भूभागलाई आफ्नै भूभाग देखेर भ्रमण गरिएको बताउनु भयो । डाक्टर गौतमले यस्ता विषयहरुलाई नेपाल सरकारले गम्भिरतापूर्वक उठाउनु पर्ने आवश्यकतामा जोडदिनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई पूर्वजानकारी नदिई नेपालको कालापानी क्षेत्रमा भ्रमण गरेको भन्दै आपत्ति जनाएको छ । आज विज्ञप्ति निकालेर जनमोर्चाले नेपालको कालापानी क्षेत्रमा पर्ने गुञ्जी गाउँमा नेपाललाई पूर्व जानकारी नगराइ वा अनुमति नलिइ भएको मोदीको भ्रमणको विरोध गरेको हो । कालापानी क्षेत्रमा पर्ने गुञ्जीलगायतका गाउँ दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं. १ मा पर्ने उल्लेख गर्दै विज्ञप्तिमा, कुटी, गुञ्जी, नाभी, न्युराङ, छोटाकैलाशसहितको कालापानी क्षेत्र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताभित्र पर्ने भूभाग हुन् भनिएको छ ।

====================================

सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं  ।

विषय : नेपालको भूभागमा इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमण कसरी सम्भव भयो ?

प्रधानमन्त्रीज्यू ,
यही असोज महिनाको २५ गते बिहान ८:३० बजेदेखि नेपालको अभिन्न भूभाग दार्चुला जिल्लाका जोलिङकाङ र गुन्जीमा इन्डियाली प्रधानमन्त्री दामोदरदास मोदी उपस्थित भएर धार्मिक र राजनीतिक गतिविधि गरेको पुष्टि भएपछि नेपाली नागरिकहरूका मनमस्तिष्कमा अनेक प्रश्नहरू उब्जिएका छन् । ती प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन्  ।

१• यही असोज महिनाको २५ गते बिहान नेपालको अभिन्न भूभाग जोलिङकाङ र गुन्जीमा भ्रमण गर्न इन्डियाली प्रधानमन्त्रीलाई नेपालको कुन निकायले अनुमति दिएको हो ?

२• इन्डियाली प्रधानमन्त्री नेपाली भूभागमा दलबलसहित जाने आधिकारिक सूचना इन्डियाली सरकारले सार्वजनिक गरेपछि त्यसलाई रोक्न नेपाल सरकारले के-कस्ता प्रयास गर्‍यो ?

३• लिम्पियाधुरासम्मको भूमि  समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई तत्कालीन संसद्बाट सर्वसम्मत रूपमा पारित गरेपछि कालापानीबाट इन्डियाली सेना फिर्ता गर्न इन्डियाली सरकारसँग किन कुनै किसिमको संवाद भएन ?

४• कालापानी क्षेत्रमा इन्डियाले सैन्य संरचना विस्तार गर्दा र नेपाली भूभागमा सडक निर्माण गरेको देख्दा के कति कारणले यसलाई रोक्ने प्रयास भएन ?

५• यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने झिनो प्रयास पनि गरिएको देखिएन, किन ?

६• अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा किन बुझाइएन ?

७• बैसठ्ठी वर्षदेखि निरन्तर थाती रहेको कालापानी क्षेत्रको समस्या समाधान हुन अब अझै कति समय लाग्छ  ?

८• काली नदीको उद्गम पत्ता लगाउन अन्तर्राष्ट्रिय जलस्रोतविज्ञको सहायता लिने प्रयास अहिलेसम्म किन गरिएन  ?

९• अद्यावधिक गरिएको नक्साअनुसार नेपालको क्षेत्रफल कति हो र किन सार्वजनिक गरिएन ?

१० • समष्टिमा नेपाली राष्ट्रियताको आधारबिन्दु के हो  ?

माथिका यी प्रश्नहरूको उत्तर दिनुपर्ने नैतिक दायित्वको बोध गरी प्रधानमन्त्री कसरी मुखर बन्नुहुन्छ , नेपाली जनता त्यसको प्रतीक्षा गरिरहेका छन् ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ , नेपाल

बोधार्थ:
तत्कालीन प्रम खड्गप्रसाद ओली
तत्कालीन प्रम झलनाथ खनाल,
तत्कालीन प्रम बाबुराम भट्टराई,
तत्कालीन प्रम माधवकुमार नेपाल,
तत्कालीन प्रम शेरबहादुर देउवा

Facebook Comments