Mon. Dec 23rd, 2024

कोशी प्रदेशमा हस्ताक्षर सनाखत कार्य सम्पन्न

विराटनगर, २०८० असोज २७ गते शनिबार । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङ्गको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको थियो ।

राससका अनुसार सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङ्गले स-शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गर्नुभएको थियो । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।

नेकपा (एमाले) का ३९ र कांग्रेसका ८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्नुभएको छ ।

Facebook Comments