Mon. Dec 23rd, 2024

बझाङमा थप ‘सेस्मोमिटर’ जडान   

भूमिराज पिठातोली/सुर्मा (बझाङ), २०८० असोज २३ गते मंगलबार । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू-गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

राससका अनुसार चैनपुरमा आधार मानेर पूर्व-पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार-पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार-पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको जानकारी दिनुभयो । “बझाङमा गएको मङ्गलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो”, उहाँले बताउनुभयो ।

Facebook Comments