Tue. Dec 24th, 2024

राष्ट्रिय शोकको घोषणा

- हमास-इजरायल युद्ध २०८०.६.२०

काठमाण्डू, २०८० असोज २२ गते सोमबार । इजरायलमा शनिबार गरिएको आक्रमणमा परी ज्यान गुमाएका दशजना नेपालीको सम्मानमा  सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले सो आक्रमणमा परी ज्यान गुमाएका मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका साथै स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो । इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी नेपालबाट “इन्टर्नशीप” मा गएकामध्ये १० जना विद्यार्थीहरुको ज्यान गएको थियो ।

पछिल्लो समाचार अनुसार इजरायलको दक्षिणीक्षेत्र सेदोत नेगेभ लगायतका विभिन्न भागमा अलपत्र परेका ३२ जना नेपालीहरुलाई इजरायली सरकारले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरेर लगिएका बर्दियाका लुईस रिजालले सो उद्धारको भिडियो मार्फत पुष्टि गरेका छन् । उद्धार गरिएका अर्का नेपाली विद्यार्थी नितीन भण्डारीका अनुसार १३ जना नेपालीलाई वेतकाम क्षेत्रमा राखिएको छ । उनीहरुलाई तेलहविव लैजाने तयारी गरिएको छ ।

Facebook Comments