Sat. May 18th, 2024

शेयर बजारमा १८ अंकको वृद्धि

भिओके समाचार/काठमाण्डू, २०८० असोज ९ गते मंगलबार । साताको पहिलो दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार आज भने दोहोरो अंक बढेर बन्द भएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १८.४५ अंक बढेर २०२२.९१ विन्दुमा पुगेको छ ।

नेप्सेको वृद्धिलाई आज भोल्यूमले पनि साथ दिएको छ । आज कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । हिजो डेढ अर्बको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, मोलुङ्ग हाइड्रोपावर कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको साढे ७ करोडको शेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ । वित्त, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक भने ०.१८ प्रतिशत घटेको छ ।

Facebook Comments