Fri. Dec 27th, 2024

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका क्रममा मन्दिर अवलोकन गर्नुहुँदै । तस्बिरः अजय साह, रासस

जनकपुरधाम, २०८० असोज ८ गते सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गर्नुभएको छ । सोही अवसरमा उहाँले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गर्नुभयो ।

जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः अजय साह, रासस

राष्ट्रपतिलाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको आज दिउँसो समुद्घाटन कार्यक्रम रहेको छ । सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने नागरिक अभिनन्दन उहाँले ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । रासस

Facebook Comments