Thu. Dec 26th, 2024

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपतिसँग शिष्टाचार भेट

डब्लिन, २०८० असोज ६ गते शनिबार । सभामुख देवराज घिमिरेले शुक्रबार आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो ।

भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो । ‘सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ठ बनाएको छ,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रूपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गर्नुभयो । ‘हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरू हुन् । लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धताहरू रहेका छन्,’ सभामुखको भनाइ थियो ।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रहरूमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । उहाँले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानूनी एवं नीतिगत सुधारहरू समेत भइरहेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुभयो । उहाँले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थीहरू आकर्षित भएको बताउँदै आवश्यक सहजिकरणका लागि आग्रह गर्नुभयो ।

रेडियो नेपालका अनुसार भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकोबारे आफू जानकार रहेको बताउँदै प्राकृतिकरुपमा दुवै मुलुक धनी रहेको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालायित रहेको बताउनुभयो ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्ड मैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राख्नुभयो ।तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा निस्कनुभएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्छ ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरेले संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधि सभाका सभामुखसँग भेट गर्नुभएको थियो । उहाँले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुईपक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गर्नुभएको छ ।

आइरिस राष्ट्रपतिका कविता सङ्ग्रहको सम्झना

भेटमा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता सङ्ग्रह स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईँले लेखको कविता सङ्ग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यतै राम्रो छ । नेपालीले रुचाएका छन् ।’

तत्कालीन बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि. हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि. हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता सङ्ग्रह लोकार्पण गर्नुभएको थियो ।

सभामुख घिमिरेले बयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।

Facebook Comments