Mon. Dec 23rd, 2024

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

 मस्को, २०८० भदौ २७ गते बुधबार । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गर्नुभएको थियो । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गर्नुभयो । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

नेता किमले राष्ट्रपति पुटिनलाई उहाँको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उहाँले उल्लेख गर्नुभयो ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय जगत्ले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आउनु भएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ ।

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताउनु भएको छ । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उहाँले त्यस्तो जवाफ दिनुभएको हो । नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहनुभएको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गर्नुभयो ।

रुसी रक्षामन्त्री सर्गेई शोइगु गत जुलाईमा प्योङयाङको भ्रमणमा हुनुहुन्थ्यो । त्यसबेला र हालै द्विपक्षीय संयुक्त नौसैनिक अभ्यासको प्रस्ताव गरिएको छ । दुई नेताबीचको वार्तामा भाग यी विषयका साथै खाद्यान्न सहायतालगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । नेता किमका साथ कोरियाली पीपुल्स आर्मी मार्शल पाक जोङ चोन र युद्धक पदार्थ उद्योग विभागका निर्देशक जो चुन र्योङलगायत उच्च सैन्य अधिकारीहरू रहेकाले आपसी सैन्य सहयोग आदानप्रदानमा वार्ता केन्द्रित हुने प्रायः निश्चित रहेको विश्लेषकहरू बताउँछन् ।

युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन ।

यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दुरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन् । एएफपी

Facebook Comments