Mon. Dec 23rd, 2024

सीमामा अड्किएका नेपालीलाई अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

काठमाडौं, २०७६ चैत ११ गते मंगलबार

सरकारले सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई मङ्गलबार पनि नेपाल भित्रिन दिएको छ । भारतका विभिन्न क्षेत्रमा कोभिड–१९ सङ्क्रमण देखिएपछि त्यसको प्रभाव रोकथाम तथा नियन्त्रणका लागि सरकारले सोमबार विहान १० बजेदेखि लागुहुने गरी भारत र चीनतर्फका सम्पूर्ण सीमा नाकाबाट आवागमनमा रोक लगाएको थियो ।

आवागमनमा सरकारले लगाएको रोकका कारण भारत तर्फका पूर्व-पश्चिम सम्पूर्ण सीमा नाकामा नेपाली नागरिक अलपत्र परेपछि एकपटकका लागि आवागमन खुला गरिएको हो । उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले नेपाली भएको परिचय खुल्ने कागजपत्रको आधारमा मंगलबारसम्म नेपाल भित्रिन दिने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहनुभएको कोभिड-१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विभिन्न प्रदेशमा समेत परीक्षण ल्याव स्थापना गर्ने निर्णय गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले स्थानीय सरकारसँगको समन्वयमा नेपाल भित्रिएका सबैलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न प्रदेश सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा) र भेरी अस्पताल (नेपालगञ्ज) मा कोभिड-१९ परीक्षण प्रयोगशाला निर्माण कार्य शीघ्र सुरु गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । वीर अस्पतालमा समेत तत्काल यन्त्र उपकरण जडान कार्य अगाडि बढाइने जनाइएको छ । प्रवक्ता डा.खतिवडाले प्रदेश स्तरमा परीक्षण व्यवस्था नभएसम्मका लागि विभिन्न क्षेत्रबाट सङ्कलन गरिएका स्वाब द्रूत माध्यमबाट ल्याई केन्द्रीय प्रयोगशाला टेकूमा परीक्षण गरिने बताउनुभयो ।

उहाँले सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण र उपचारका सामग्री शीघ्र आपूर्तिका लागि निजी क्षेत्रलाई समेत आह्वान गरिने जानकारी दिनुभयो । यस्ता सामग्री पारदर्शी र व्यवस्थित ढंगले बैशाख १५ गतेसम्म ल्याउन आवश्यक परे सरकारले हवाई यातायातको व्यवस्था गर्ने समेत प्रवक्ता डा.खतिवडाले बताउनुभयो । उहाँले सरकारी प्रक्रियाबाट ल्याउँदा समय समेत लाग्ने भएकाले निजी क्षेत्रलाई समेत आह्वान गरिएको बताउनुभयो ।

उहाँले कोभिड-१९ सङ्क्रमण नियन्त्रण र उपचारका लागि अत्यावश्यक औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरु चीन र भारतबाट ल्याउन परराष्ट्र मन्त्रालयमार्फत् समन्वय भइरहेको समेत जानकारी दिनुभयो । प्रवक्ता डा.खतिवडाले अत्यावश्यक सेवा बाहेक आवागमन नगर्न सरकारले गरेको अनुरोधलाई नागरिकले पालना गरेको प्रतिक्रिया दिनुभयो । उहाँले नागरिकको जीवनलाई सुरक्षित र सहज होस् भनेर नै आवतजावतमा रोक लगाइएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “आवश्यकताभन्दा बढी कडाई पनि आवश्यक छैन । नागरिकलाई असहज र दुःख दिने कुरा पनि होइन । कुनै आपतकालको कप्mर्यू पनि यो होइन ।” नेपालीको सुरक्षा व्यवस्था मिलाइने उच्चस्तरीय समन्वय समितिको बैठकले कोभिड-१९ प्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा व्यवस्था सरकारले गर्ने निर्णय गरेको छ । विभिन्न देशमा रहेका नेपाली नागरिकले सम्बन्धित मुलुक छाड्नुपर्ने अवस्था आउन नदिन कुटनैतिक माध्यमबाट अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । विदेशमा रहेका नेपाली नागरिकलाई आफु रहेको मुलुकमा सुरक्षित र संयमित रुपमा रहन समेत बैठकले आग्रह गरेको छ ।

विदेशस्थित नेपाली नियोगहरुलाई नेपाल सरकारले गरेका निर्णयबारे सम्बद्ध मुलुकमा रहेका नेपाली नागरिकलाई नियमित सुचना दिनसमेत निर्देशन दिएको छ । परिचयपत्र देखाएर आवतजावत बैठकले सञ्चारकर्मी, स्वास्थ्य सेवााम खटिएका चिकित्सक, नर्स, फर्मासिस्ट, प्रयोगशालामा काम गर्ने प्राविधिक, औषधि उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिलाई परिचयपत्रको आधारमा आवतजावत सहज बनाउने निर्णय गरेको छ ।

यस्तै, कुटनीतिक नियोगसँग सम्बन्धित व्यक्ति तथा संस्थालाई समेत सवारी आवागमनमा छुट दिने निर्णय बैठकले गरेको छ । सहयोग रकम कोषमा जम्मा सरकारले स्थापना गरेको ‘कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा सबै सहयोग रकमलाई केन्द्रीत गरिने भएको छ । समन्वय समितिको बैठकले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन कुनै निकाय वा संस्थाले बेग्लै कोष स्थापना नगर्नसमेत आग्रह गरेको छ ।

यदि त्यस्तो कोष स्थापना गरिएको भए आफू मातहत संस्था वा व्यक्तिबाट मात्र जम्मा गर्न भनिएको छ । यसरी जम्मा भएको रकम प्रत्येक हप्ता नेपाल सरकारले स्थापना गरेको कोषमा जम्मा गर्नसमेत बैठकले निर्देशन दिएको छ । सरकारले सोही प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंकमा (खाता नं. १९६०००००११०१) खाता खोलेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments