Fri. May 3rd, 2024

चिनियाँ भाषामा उत्कृष्ठ हुने विभिन्न विद्यार्थीहरु पुरस्कृत   

- नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्

रमेश हतुवाली/काठमाण्डौं, २०८० भदौ ५ गते मंगलबार । चिनियाँ भाषा, साँस्कृतिक प्रस्तुति, चित्रकला, चिनियाँ वक्तृत्वकला प्रतियोगिता लगायतका विभिन्न चारवटा विधाका उत्कृष्ट प्रतियोगी विद्यार्थीलाई एक समारोह आयोजना गरी आज काठमाण्डूमा पुरस्कृत गरिएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास र नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले संयुक्त रुपमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा  चिनियाँ शिक्षा स्वागत समारोह आयोजना गरी माध्यमिक तहका विद्यालयका विद्यार्थीका लागि १६औँ चाइनिज–ब्रिज चिनियाँ प्रवीणता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड वितरण गरिएको हो ।

समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रतियोगितामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै नयाँ आविष्कारका क्षेत्रमा चीनले गरेको प्रगति देखेर आफु निकै प्रभावित भएको उल्लेख गर्नुभयो । उहाँले चीन सँधै भरपर्दो सहयोगी र सहकर्मी रहँदै आएको बताउनुभयो ।

मन्त्री राईले विज्ञान प्रविधिको क्षेत्रमा पनि चिनियाँ सरकारले नेपाल सरकारसँग थप सहकार्य अगाडि बढाउनुपर्नेमा जोड दिँदै सांस्कृतिक, आर्थिक, विज्ञान, प्रविधि, यातायात र सञ्चारको सहयोग आदानप्रदानले दुवै देशलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गर्नुभयो । भाषाले शक्तिशाली मात्र नभई समृद्धिका लागि पनि मद्दत पु-याउने उल्लेख गर्दै मन्त्री राईले दुई देशबीचको शैक्षिक आदानप्रदान र सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।

समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ पक्षले नेपालमा चिनियाँ भाषा शिक्षाको स्तरोन्नतिलाई सशक्तरूपमा प्रवर्द्धन गर्न, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र अनुदान उपलब्ध गराउने चिनियाँ भाषा शिक्षालाई व्यावसायिक, उच्चस्तरीय र पाठ्यक्रमका रूपमा विकास गर्नका लागि प्रवर्द्धन गर्न नेपाली पक्षसँग मिलेर काम गर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले यस वर्षको सुरुआतदेखि महामारीको प्रभाव कम भएपछि दुई देशका जनता-जनताबीचको सम्बन्ध र सांस्कृतिक आदानप्रदान र सहयोगमा वृद्धि भएको बताउनुभयो ।

राजदूत छन सोङले विगत १० वर्षमा ‘बेल्ट एण्ड रोड’ लाई विन–विन सहयोगको बाटो मात्र नभई सभ्यताबीचको आपसी सिकाइको मार्ग पनि बनाउँदै सिल्क रोडको भावनालाई विरासतको रूपमा अगाडि बढाउन हात मिलाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुति गरेका थिए भने नेपालस्थित चिनियाँ भाषा शिक्षकहरुले विभिन्न चिनियाँ गीतहरु गाएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीतसंगीत र नृत्यले दर्शकहरु उत्साहि भएका थिए ।

कार्यक्रम आयोजक संस्था नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र साहले भ्वाईस अफ काठमाण्डूसँग कुराकानी गर्नुहुँदै नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न भाषाको ज्ञान महत्वपूर्ण हुने बताउनु भयो ।

नेपालमा चिनियाँ पर्यटकहरुको संख्या बढेसँगै चिनियाँ भाषा सिक्नेहरुको संख्या पनि बढिरहेको भन्दै डा. साहले चीनले ४० वर्षको अवधिमा विश्वलाई नै चकित पार्ने ढंगले गरेको विकासबारे बुझ्न र चिनियाँ विकासको फल नेपालसम्म ल्याउन पनि चिनियाँ भाषाको ज्ञान आवश्यक भएको तर्क गर्नुभयो ।

चिनियाँ भाषाको राम्रो दख्खल भएकाहरुलाई विश्वका कुनै पनि देशमा रोजगारीको समस्या नभएको भन्दै डा. साहले नेपालमै पनि चिनियाँ भाषाका दोभाषेहरुले विभिन्न कम्पनीहरुमा काम गर्दा मासिक रुपमा ३ लाख भन्दा पनि धेरै पारिश्रमिक प्राप्त गरिरहेको जानकारी आफुले पाएको बताउनु भयो । यस्ता कार्यक्रमहरुको माध्यमबाट चिनियाँहरुलाई नेपाल बारे बुझ्न र नेपालीहरुलाई चीनबारे बुझ्न सहयोग पुग्ने डा. साहको भनाई छ ।

फोटो सर्वाधिकार :रमेश हतुवाली

Facebook Comments