Fri. May 17th, 2024

नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले संयुक्त राष्ट्रसंघको घोषणालाई लत्याइरहेको ग्रेटर नेपालको आरोप

काठमाण्डू, २०८० साउन ३० गते मंगलबार । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको नभई संयुक्त राष्ट्रसंघको घोषणालाई लत्याइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आरोप लगाएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले भारत स्वतन्त्र भएको ७७ औं वर्ष गाँठको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै सन् १९४७ अगष्त १५ मा भारतले नेपाली भूमि कब्जा गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हाल भारत नियन्त्रित सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेशका  मुख्य मन्त्रीहरुलाई सम्बोधन गर्दै प्रकाशित गरिएको प्रेस विज्ञप्तिमा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ भनि उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ

२०२३ अगस्त १५ 

माननीय मुख्य मन्त्री
सिक्किम,
पश्चिम बङ्गाल,
बिहार,
उत्तर प्रदेश,
उत्तराखण्ड,
हिमाचल प्रदेश
इन्डिया ।

मुख्य मन्त्री महोदय, 

१. छिमेकी देश भएको नाताले इन्डियाको गणतन्त्र दिवसमा खुलेर बधाई दिन नसक्नुको कारण इन्डिया नै हो भन्नुपर्दा हामी नेपालीले त्यति सङ्कोच मान्नुपर्दैन । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसै पृष्ठभूमिमा इन्डियाका उल्लिखित राज्यका माननीय मुख्य मन्त्रीहरूसमक्ष सन् १९४७ अगस्त १५ मा इन्डियाले स्वराज प्राप्त गर्दा १८१६ मार्च ४ को सुगौली सन्धिबाट गुमेको नेपाली भूमि स्वतः स्वतन्त्र भएकोमा इन्डियाले त्यो भूमिमा जबर्जस्ती औपनिवेशिक शासन लादेको तथ्य प्रस्तुत गर्दै इन्डियाको उक्त क्रियाकलापले स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारको खिल्ली उडाएको दृश्य देखाउन चाहन्छ ।

२. नेपाल अधिराज्य स्वतन्त्र मुलुकका रूपमा विद्यमान छँदाछँदै हाल सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र हिमाचल प्रदेशभित्र अवस्थित नेपाली भूमि १९४७ अगस्त १५ मा इन्डियामा पार्नु ठूलो अन्याय हो र नेपालीहरू यो अन्यायको अन्त्यको प्रतीक्षामा छन्  ।

३. आफ्नो भूमिमा स्वतन्त्रता दिवस मनाउनु रोमाञ्चक कुरा हो तर उपनिवेशमा राखिएको भूमिमा स्वतन्त्रता दिवस मनाउनु स्वतन्त्रता शब्दकै अपमान हो । नेपाली भूमिमा स्वतन्त्रता दिवस मनाएर इन्डियाले उपनिवेशलाई निरन्तरता मात्र दिएको होइन , सबै खाले उपनिवेशको  अन्त्य हुनुपर्छ भन्ने संयुक्त राष्ट्रसंघको घोषणालाई पनि लत्याइरहेको छ । तपाईँहरू मुख्य मन्त्री रहेका ती-ती राज्यमा गाभिएको नेपाली भूमिमा इन्डियाको झन्डोत्तोलन गर्नु सरासर गलत र अवैध काम हो । इन्डियाको संविधानको धारा १.३(ग) अनुसार इन्डियामा नगाभिएको नेपालको टिस्टादेखि सतलजसम्म र दक्षिणतर्फ गङ्गाको उत्तरी मैदानसम्मको भूमिमा गणतन्त्र दिवस मनाएर तपाईँहरूले नेपाली जनमानसमा जुन आतङ्क फैलाउनुभएको छ , त्यो सर्वथा निन्दनीय छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईँ माननीय मुख्य मन्त्रीहरूलाई स्मरण गराउन चाहन्छ, १९५० जुलाई ३१ मा भएको नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरी नेपालको वासतविक सिमाना टिस्टा-सतलज-गङ्गा कायम गरिसकेको छ र ती नेपाली भूभागमा तपाईँहरूको शासन-प्रशासन इन्डियाको संविधान अनुसार पनि पूर्णतः असंवैधानिक हो । 

बोधार्थ:
-प्रधानमन्त्री , नेपाल
-प्रधानमन्त्री, इन्डिया

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ, नेपाल

Facebook Comments