Fri. May 17th, 2024

चीनमा अध्ययन गर्न जाने विद्यार्थीहरु नेपालका जनदूत : मन्त्री राई

भिओके समाचार/काठमाण्डू, २०८० साउन २९ गते सोमबार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई जनदूतको संज्ञा दिनुभएको छ ।

चिनियाँँ राजदूतावास र नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले संयुक्त रुपमा काठमाडौंको लाजिम्पाटस्थित होटल रेडिसनमा आयोजित चीनमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको वीदाई कार्यक्रममा बोल्नुहुँदै मन्त्री राईले आज सो विचार व्यक्त गर्नुभएको हो ।

मन्त्री राईले चीन बसाईका क्रममा नेपाली विद्यार्थीहरुले सिक्ने उच्च ज्ञान र प्रविधिको जानकारी नेपालका लागि महत्वपूर्ण हुने बताउनु भयो । चीनमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्यमात्र उज्यालो नभइ त्यसले नेपालको भविष्य पनि उज्यालो बनाउने भएकोले चीनमा लगनशील भएर उच्च शिक्षा प्राप्त गरी नेपाल फर्कन मन्त्री राईले विद्यार्थीहरुलाई सचेत गराउनु भयो । मन्त्री राईले नेपाल र चीनबीचको सम्बन्ध प्राचिनकालदेखि नै प्रगाढ रहेको बताउदै नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाहले चीन सरकारले सन् १९५७ देखि उपलब्ध गराएको छात्रवृत्तिबाट नेपालका दशौं हजार विद्यार्थीहरु दिक्षित भएको र चीनका विश्व विख्यात विश्व विद्यालयहरुमा अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीहरुका लागि गर्वको विषय भएको बताउनु भयो । चीन सरकारले नेपालको शैक्षिक क्षेत्रको विकासका लागि उपलब्ध गराएको सहयोग महत्वपूर्ण रहेको भन्दै डाक्टर शाहले चीनमा उच्च शिक्षा हासिल गरि नेपाल फर्किएर नेपालको विकास निर्माणमा समर्पित हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

चीन सरकारले सन् २०२३/२४ का लागि उपलब्ध गराएको छात्रवृत्तिमा ७१ जना नेपाली विद्यार्थीहरु चीनका विभिन्न विश्व विद्यालयहरुमा अध्ययनका गर्न यसै महिना जाँदैछन् । दशकौंदेखि चीनमा नेपाली विद्यार्थीहरु चिकित्सा शास्त्र, कृषि, इन्जिनियरिङ, निर्माण, एयरोस्पेस, कम्प्युटर एप्लिकेसन लगायतका विषयहरु अध्ययन गरिरहेका छन् ।

Facebook Comments