Mon. May 20th, 2024

उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्दै   

काठमाण्डू, २०८० साउन २९ गते सोमबार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज जनवादी गणतन्त्र चीनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

सातौँ चीन दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन (खुनमिङ) आयात निर्यात मेलामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनको खुनमिङमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म उक्त प्रदर्शनी आयोजना हुँदैछ । उपराष्ट्रपति यादव आज अपराह्न १६ः२५ बजे चाइना इस्टर्न एयरलाइन्सको नियमित उडानबाट कुनमिङ प्रस्थान गर्नुहुनेछ ।

भ्रमण दलमा उपराष्ट्रपतिका धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, निजी चिकित्सक सिवाजी विक्रम सिलवाल, स्वकीय उपसचिव शत्रुधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनुहुन्छ । उपराष्ट्रपति आगामी भदौ ४ गते स्वदेश फर्कनुहुने उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

Facebook Comments