Fri. May 17th, 2024

एमसीसीका विरुद्ध काठमाण्डूमा व्यापक प्रदर्शन, गो ब्याक अमेरिकाको नाराले सडक गुञ्जियो

भिओके समाचार/काठमाण्डू, २०८० साउन २९ गते सोमबार । काठमाण्डूमा आज अमेरिकी सहयोग परियोजना एमसीसीका विरुद्धमा व्यापक प्रदर्शन गरिएको छ ।

काठमाण्डूको सुन्धारादेखि रत्नपार्कस्थित शान्ति वाटिकासम्म गरिएको सो प्रर्दशनमा गो ब्याक अमेरिका (Go Back America) को नारा लागेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपत्यका ब्युरो र संयुक्त जनवर्गीय संगठनहरुले एमसीसीको विरोध गर्दै गो ब्याक अमेरिका, गो ब्याक एमसीसीको नारा लगाएकाहुन् ।

विभिन्न व्यानर र नारासहित सुन्धाराबाट सुरु भएको विरोध जुलुस खिचा पोखरी, न्यूरोड, वसन्तपुर, इन्द्रचोक, असन, भोटाहिटी हुँदै रत्नपार्कको शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय महासचिव ललित सीले एमसीसी नेपाली जनताको पक्षमा नरहेको बताउनु भयो । उहाँले एमसीसीका विरुद्ध आफ्नो पार्टीको संघर्ष जारी रहने पनि जानकारी दिनुभयो ।

कोण सभालाई सम्बोधन गर्दै उपत्यका ब्युरोका जिल्ला इन्चार्ज इच्छुकले एमसीसीले नेपाल र नेपालीको हित नगर्ने बताउनु भयो । एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै उहाँले अमेरिकाको भत्ता खाने नेताहरुले नेपालको सार्वभौमिकतामाथि प्रहार गरेको आरोप लगाउनु भयो । नुवाकोट, पाल्पालगायतका क्षेत्रमा एमसीसीले काम गर्न थालिसकेकोले त्यसलाई यथाशीघ्र रोक्नु पर्ने पनि उहाँको माग थियो । एमसीसीलाई नेपाली जनताले कहिल्यै पारित नगरेको उहाँको भनाई छ ।

कोण सभामा बोल्दै जनसांस्कृतिक महासंघका महासचिव कुशल सीले एमसीसी परियोजना विकासको परियोजना नभइ सैनिक परियोजना भएको बताउनु भयो । यो परियोजना नेपालको हितमा नरहेको र अमेरिकी स्वार्थको लागि भएको उहाँको भनाई छ । नेपालको संसदले गरेको १२ बुँदे टिप्पणी अमेरिकाले स्वीकार नगरेको र नेपाली जनतालाई भ्रम छर्न मात्रै तयार गरिएको कुशलको धारणा थियो ।

 

Facebook Comments