Mon. Dec 23rd, 2024

शेयर बजारमा करेक्सन, २६.६६ अंक घट्यो नेप्से

काठमाण्डू, २०८० साउन ८ गते सोमबार । हिजो ठूलो अंकले बढेको शेयर बजारमा आज करेक्सन देखिएको छ । गत साताको पहिलो कारोबार दिनदेखि बढेको बजारमा आज सामान्य करेक्सन देखिएको हो । पछिल्लो ६ कारोबार दिनमा १४२ अंक बढेको नेप्सेमा आज २६.६६ अंकको करेक्सन भएर २२००.५० विन्दुमा झरेको हो ।

नेप्से घटे पनि आज भोल्यूम भने बढेको छ । हिजो ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएकोमा आज २६५ स्टकको ७४ हजार १६१ पटकको कारोबारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज किसान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको करिब २० करोडको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।

अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूचक आज सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

Facebook Comments