Wed. Jan 1st, 2025

सवारी तथा यातायात व्यवस्था नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाण्डू, २०८० असार १५ गते शुक्रबार । सरकारले मुलुकका विभिन्न ७ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित असार १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिकीकरणमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कालिकोटका रास्कोट नगरपालिकाको वडा नं ६ र नरहरिनाथ गाउँपालिकाको वडा नं २ लाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै बैठकले राप्तीसोनारी गाउँपालिका वडा नं ४ बाँके, रम्भा गाउँपालिका वडा नं ३ पाल्पा, शीतगंगा गाउँपालिका वडा नं १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका वडा नं ५ पर्सा र महागढीमाई नगरपालिका वडा नं ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले संयुक्त राष्ट्रसङ्घको Economic and social Council को आयोजनामा हुने High Level political Forum on sustainable Development विषयक कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने, यही असार २४ गते देखि २५ गते सम्म चीनको बेइजिङमा हुने Forum on Global Action for Shared Development मा सहभागी हुन पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुरलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले आगामी साउन ८ गतेदेखि १० गतेसम्म संयुक्त अरब इमिरेट्सको अबुधावीमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन(आई .एस.ए.)को क्षेत्रीय समितिको पाँचौँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै बैठकले गुर्भाकोट नगरपालिका सुर्खेत, मङ्गला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका सङ्खुवासभा, गुजरा जनगर पालिका रौतहट, मुसिकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

यस्तै बैठकले अजरबैजानको बाकुमा असार २० गतेदेखि २१ गतेसम्म हुने असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय बैठक र असार १८ गतेदेखि १९ गतेसम्म आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

Facebook Comments