Sun. Dec 29th, 2024

छन्तुबाट पोखरा र भैरहवामा नियमित उडान गर्न आग्रह

काठमाण्डू, २०८० असार १५ गते शुक्रबार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको सङ्ख्या वृद्धि गर्न सछुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गर्नुभएको छ । सछुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग आज भएको भेटमा उहाँले छन्तुबाट काठमाण्डूमा उडान सङ्ख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गर्नुभयो ।

सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसअघि छन्तु–ल्हासा–काठमाण्डू उडान थियो, अहिले छन्तुबाट काठमाण्डू सिधा उडान भएको छ । छन्तु–काठमाण्डूको उडान सङ्ख्या वृद्धि तथा छन्तुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ ।”

राससका अनुसार नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई अझ मबजुद बनाउन हवाई सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चाटर्ड उडानमार्फत पोखरा विमानस्थलमा उत्रनु भएको स्मरण गर्नुभयो । उहाँले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अप्रेसन सेन्टरको अवलोकन गर्नुभएको थियो ।

Facebook Comments