Sun. May 5th, 2024

‘नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्छ’   

काठमाण्डू, २०८० जेठ २६ गते शुक्रबार । होटल एशोसिएशन नेपाल (हान) का अध्यक्ष विनायक साहले नेपाली रैथाने खानामार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

सेफ्स एशोसियशन अफ नेपाललगायत विभिन्न सेफ्स संस्थाले आज यहाँ आयोजना गरेको ‘हानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभएको हो ।

अध्यक्ष साहले नेपालमा सेफहरू मनग्य उत्पादन भए पनि सबै क्षेत्रमा पु-याउन नसकिएको बताउनुभयो । उहाँले नेपाली खानालाई विश्वमाझ चिनाउनका लागि ‘नेपाली फुड पोर्टल’ सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । राज्यले गर्ने भोजभतेरमा नेपाली खाना नै चलाउने अभियानमा सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

बिबिसी मास्टर सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमाझ लैजानका लागि सरोकारवाला निकाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले वार्षिक क्यालेण्डर बनाएर नेपाली खानाको प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुभयो ।

ग्लोबल सेफ फेडेरेशनका अध्यक्ष एवं वरिष्ठ सेफ्स लक्ष्मणप्रसाद भण्डारीले सरकारले बजेट छुट्याएर सबै प्रदेश र जिल्लामा नेपाली परिकारको प्रचारप्रसार गनुपर्ने बताउनुभयो । सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्यामबहादुर लामाले नेपालमा उत्पादित सेफ्सलाई दक्ष बनाएर नेपालका होटलमा काम गर्ने वातावरण निर्माणका लागि होटल एशोसिएशनसँग सेफ्स एशोसिएशन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले तारे होटलमा हुने ठूला कार्यक्रमका लागि सेफ्स जनशक्ति अभाव हुने अवस्थामा सोको परिपूर्तिका लागि सेफ्ससँग सम्बन्धित सङ्घ संस्थाले मोबाइल टिम गठन गरेर परिपूर्तिको वातावरण निर्माण गर्ने बताउनुभयो ।

अध्यक्ष लामाले लामो समयदेखि होटलका कार्यरत पुराना सेफ्सहरूलाई खाना पकाउने आधुनिक प्रविधिसम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्ने, हानले विगतका दिनदेखि प्रदान गर्दै आएको एडभान्स कुक तालिमलाई सम्पन्न गर्न र नेपाली खानालाई समावेश गरी प्रकाशन गरिएको हेरिटेज कुक बुकको मेन्युलाई समावेश गरी सेफ्स एशोसिएशन अफ नेपाललाई नेतृत्व प्रदान गर्न हानसँग आग्रह समेत गर्नुभयो । रासस

Facebook Comments