२०८३ भाद्र ११, बिहीवार

दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु   

नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस

       

 काठमाण्डू, २०८० जेठ २५ गते बिहीबार । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला तिलगङ्गामा आजदेखि सुरु भएको हो ।

आज एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभयो । उक्त प्रतियोगिता यही जेठ २७ गतेसम्म सञ्चालन हुने नेपाल योग खेलकुद सङ्घ भक्तपुरका उपाध्यक्ष चन्द्रमणि ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त योग खेलकुद प्रतियोगितामा नेपाल, भारत र बङ्लादेश गरी तीन देशका खेलाडी सहभागी भएका छन् ।

सो प्रतियोगितामा सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने भनिए पनि विभिन्न कारणले अन्य देशका खेलाडी सहभागी हुन नसकेको आयोजकले जनाएको छ । उक्त स्पर्धामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । जसअनुसार आठदेखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यसैगरी माउन्ट एभरेष्ट योग फेस्टिभल पनि यही जेठ २६ र २७ गते हुने भएको छ । यस प्रतियोगितामा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष ढुङ्गानाले बताउनुभयो । उक्त प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् भने नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विसं २०७३ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएको उक्त सङ्घले २०७४ सालमा प्रथम दक्षिण एसियाली खेलकुद र २०७६ सालमा दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सञ्चालन गरेको जनाइएको छ ।

Facebook Comments