Mon. Dec 23rd, 2024

मेराे भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री   

- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण : राष्ट्रियसभालाई जानकारी

काठमाण्डू, २०८० जेठ २४ गते बुधबार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै उहाँले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले भ्रमणका क्रममा भारतसँग अतिरिक्त हवाई प्रवेश विन्दुको अनुमतिका विषयमा समेत महत्वपूर्ण र सकारात्मक छलफल अगाडि बढेको जानकारी बताउनुभयो । उहाँले जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा पनि उत्तिकै गम्भीर छलफल एवम् सहमति भएको भनाइ राख्नुभयो ।

“भारतीय भूमि हुँदै बङ्गलादेशसँग बिजुली व्यापारका लागि सहमति भएको छ । भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने बताउनुभएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । यसले माथिल्लो तामाकोशी जलविद्यत्लगायतका आयोजनाबाट उत्पादित बिजुली निर्यात हुने वातावरण बनेको जानकारी दिनुभयो ।

जलविद्युत्को बजार सुनिश्चित भएको र त्यसले मुलुकको ऊर्जा क्षेत्रमा थप लगानीका लागि मार्ग प्रशस्त भएको, पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तीन महिनाभित्र पूरा गर्ने र एक वर्षभित्र कार्यान्वयनको ढाँचा तय गर्ने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ ।

टनकपुरमा पानी उपलब्ध गराउने र सीमावर्ती क्षेत्रमा हुँदै आएको बाढी तथा डुबान नियन्त्रणका लागि दुवै देशका प्रधानमन्त्रीले निर्देशन दिएकोसमेत प्रधानमन्त्रीले जानकारी दिनुभयो । साथै झुलाघाट, पूर्णागिरीलगायतका क्षेत्रमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माणका विषयमा पनि भारतीय पक्षसँग छलफल भएको उहाँको भनाइ छ ।

कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छलफल भएको जानकारी दिँदै प्रधानन्त्रीले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि पनि सकारात्मक वातावरण बनेको उल्लेख गर्नुभयो । व्यापार सहजीकरण, व्यापार घाटा कम गर्ने, जुटमा लाग्दै आएको थप महसुल हटाउने विषयमा पनि भ्रमणका अवधिमा छलफल भएको उहाँको भनाइ छ । नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्ने विषयमा भारतीय प्रधानमन्त्री मोदीले पनि संयुक्त पत्रकार सम्मेलनमा नै प्रतिबद्धता व्यक्त गर्नुभएको सदनलाई जानकारी दिनुभयो ।

निर्माणाधीन रेलमार्गलाई गति दिने र निर्माण सम्पन्न भएका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुई देशबीच सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विराटनगर कार्गो रेल सेवामार्फत जोडिएको बताउनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन, सुनौलीमा एकीकृत चाँज चौकीको शिलान्यास, मोतिहारी हुँदै अमलेखगञ्जसम्मको पेट्रोलियम पाइप लाइन अब लोथरसम्म निर्माण हुने सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि देशका विभिन्न स्थानमा थप पाइप लाइन निर्माणबारेमा पनि सहमति भएको उहाँको भनाइ छ ।

यसैगरी न्यू बुटवल गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणका लागि भ्रमणका क्रममा नै शिलान्यास भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । भ्रमणका क्रममा विभिन्न सात विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको जानकारी दिँदै प्रधानमन्त्रीले व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको, त्यसमा केही दुरगामी महत्वका प्रावधान समावेश गरिएको बताउनुभयो ।

त्यसबाट ब्लक कार्गो ढुवानी गर्ने सहमति भएको, भारतीय विभिन्न जलमार्गको प्रयोग गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ । दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुने वातावरण बनेको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी दिनमा निर्माण हुने विशेष आर्थिक क्षेत्रको सञ्चालन, औद्योगिक वातावरण बनाउन सहज हुने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

फुकोट कर्णाली जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग संयुक्त उपक्रम निर्माण गरी अगाडि बढाउने, कूल छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका सन्दर्भमा पनि भ्रमणका क्रममा आवश्यक सहमति भएको प्रधानमन्त्रीको भनाइ छ । त्यस्तै, दुई देशबीच सहजरुपमा अन्तरदेशीय विद्युतीय भुक्तानीका विषयमा पनि सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानीका लागि आग्रह गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले नेपाल र भारतीय व्यवसायीबीचको अन्तरक्रिया आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । मध्यप्रदेशको इन्दोरमा फोहर व्यवस्थापनमा गरेको प्रगति हाम्रा लागि पनि उत्तिकै अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा आफूले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकोसमेत बताउनुभयो । भ्रमणले नेपाल र भारतबीच विश्वासको वातावरण बनाएको र आगामी दिनमा त्यसको परिणाम देखिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नुभएको थियो ।

Facebook Comments