Sat. Apr 27th, 2024

नुवाकोटमा सिन्दुरे जात्रा मनाइयो

त्रिशूली, २०७९ चैत २६ गते आईतबार । भैरवी वर्ष बन्धन-२०७९ अन्तरगतको यो वर्षको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाट स्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिह डंगोल, धमिनी ज्ञानुमायाँ डंगोल सहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु-याएसगैँ सिन्दुर खेलेर यो वर्षको सिन्दुरे जात्रा मनाइएको हो ।

भैरवी वर्ष बन्धन अन्तरगतको मुख्य रौनक सिन्दुरे जात्रा मनाएपनि धार्मिक गतिविधि र पूजाविधि भने आगामी बैशाख ३ गतेसम्म कायम रहने नेपाल सरकारका प्रतिनिधि एवम् द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार सिन्दुर हालिसकेपछि भैरवीदेवी रथयात्रामा सहभागी धामी, धमिनी सहितको लावालस्करबाट पूजाविधि, भोज र भोगबलीमा सहभागि भएर आज (आइतबार)सम्म पनि धार्मिक गतिविधि कायमै रहेको छ ।

शनिबार साँझ द्धारे शाहीले धार्मिक विधि अनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेर यसवर्षको सिन्दुरे जात्राको विशेष रौनक सक्किएपनि भैरवी वर्ष बन्धन-२०७९ को बाँकी प्रक्रिया र गतिविधि आगामी बैशाख ३ गतेसम्म जारी रहने छ । सिन्दुरे जात्रा ‘सरकारी जात्रा’ अन्तरगत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिको उपस्थिती अनिवार्य मानिन्छ । यो जात्रा ‘सरकारी जात्रा’ भएपनि नुवाकोटबासीले यस जात्रालाई साझा पर्व र गौरवपूर्ण इतिहासप्रतिको सम्मान व्यक्त गर्दैँ उल्लासपूर्ण रुपमा मनाउने गरेका छन् ।

जालपादेवी मन्दिरमा पुराएर फर्काइएको भैरवीको रथ सहित धामी–धमिनी, कुमार, गणेश सहितको बाह्रभाई खलकको लावालस्करलाई नेपाली सेनाले सलामी अर्पण सहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउदै बजागाजा सहितले विशेष सम्मान दिने गरिएको छ ।
प्रसिद्ध जालपादेवी, भैरवीदेवी सहित जिवित भगवानको रुपमा रहनुभएका धामीप्रतिको आस्था एवम् सद्भाव राख्दै जात्राको अवलोकन गर्न यो वर्ष यही चैत २१ गतेदेखि आज २६ गतेसम्म हजारौँको सहभागिता रह्यो । जात्रामा बुढापाका मात्र नभई युवा र बालबालिकाहरुको समेत उल्लेख्य सहभागिताले सदियौँ देखि मनाइदै आएको जात्राको गरिमालाई उच्च बनाएको विदुर नगरपालिका-५ निवासी रामकृष्ण भट्टले बताउनुभयो ।

चैत शुक्ल पूर्णिमाको दिनमा मनाइने भएपनि यस जात्रालाई “बैशाख शुल्क पूर्णिमाको जात्रा”, “धामी जात्रा” देवीजात्रा लगायतको नामले प्रसिद्ध रहेको छ ।

भक्तजन तथा जात्रालु, तिर्थालुले दिदी जालपादेवी, बहिनी भैरवीदेवी सहित नुवाकोटका धामी-धमिनीको एकै स्थानमा दर्शन गर्न पाउने अवसर समेत हरेक वर्ष चैत शुक्ल पूर्णिमामा जुर्ने गरेको छ । रासस

Facebook Comments