Fri. Apr 19th, 2024

पोखराको हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु

कास्की, २०७९ चैत २६ गते आईतबार । आलु र तरकारी उत्पादनमा देशमै अग्रणी पोखरा महानगरपालिका-२५ हेमजामा आजदेखी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।

विष्णु पादुका क्लबको आयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवको गण्डकी प्रदेशका कृषि उर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले उद्घाटन गर्नुभयो ।

महोत्सवमा आलुको पहाड निर्माण गरिएको छ । स्थानीय कृषकहरुबाट सङ्कलित ३५ टन आलुबाट पहाड निर्माण गरिएको आलु संकलन तथा कृषि परिचालन उपसमिति संयोजक जयराज तिमिल्सिनाले बताउनुभयो ।

महोत्सवस्थलबाट प्रतिकिलो रु.३५ मा आलुको बिक्री वितरण गरिएको छ । महोत्सवमा करिब ४० टन आलु बिक्री वितरण हुने अपेक्षा गरिएको छ । कुल एक सय २० वटा स्टल रहेकोमा करिव २५ प्रतिशत कृषि स्टल रहेको जनाइएको छ ।  महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुनेछन् ।

महोत्सवसँगै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यवसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती संचालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संङकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने लगायतका उद्देश्य पनि राखिएको छ ।

कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म हुन नसकेको महोत्सवलाई यस वर्षदेखि क्लवले निरन्तरता दिन लागेको हो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।  रासस

Facebook Comments