Thu. May 2nd, 2024

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

धुलिखेल, २०७९ चैत ९ गते बिहीबार । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।

दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा ७ सय २८ जनाले नागरिकता लिएका थिए भने २ हजार २ सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब २ हजार ४ सय जनाले फोटो खिचाएका छन् ।

यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या १ हजार ४ सय ७९ जना रहेकामा नागरिकता बनाउने १ हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता ६ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र २ सय हजार ८१ जनाले लिएका छन् ।

गत पुसमा ७ सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने १ हजार ३ सय ७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि २ हजार १६ जनाले फोटो खिचाएका छन । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताउनुभयो । रासस

Facebook Comments