Sun. May 5th, 2024

साँघुरिँदै कालीगण्डकी नदी : हराउँदै मौलिक स्वरुप

-ध्रुवसागर शर्मा/गलेश्वर, २०७९ चैत ५ गते आईतबार । नदी किनारमा मोटरबाटो र अव्यवस्थितरुपमा बढ्दै गएका बस्तीका कारण कालीगण्डकी साँघुरिँदै गएको छ । अव्यवस्थित बसोबासले पहिरो र कटानको जोखिम बढाएसँगै समस्या देखिन थालेको हो ।

पछिल्लो समय मुस्ताङको लेतेदेखि म्याग्दीको सदरमुकाम बेनीसम्मको कालीगण्डकी नदी क्षेत्रको मौलिक स्वरुप नै परिवर्तन भएको छ भने बेनीदेखि गुल्मीको रिडीसम्मको नदी क्षेत्र साँघुरिँदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

धार्मिक, सांस्कृतिक र जैविक महत्वयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको कालीगण्डकी नदीसम्बन्ध जानकार पुरुषोत्तमाचार्यले बताउनुभयो

बहुचर्चित कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम-कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि पहिराले कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको भनाइ छ ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ ।

कालीगण्डकी नदी वर्षाको समयमा बाढीपहिरो र हिउँदको समयमा अवैधरुपमा ढुङ्गा, बालुवा निकाल्ने गिरोहका कारण सबैभन्दा बढी मारमा परेको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ ।

सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुङ्गे भिरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको नदी संरक्षणकर्मी सागरजीवी उपाध्यायले बताउनुभयो ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् ।

डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्ले बताउँदै आएका छन् । रासस

Facebook Comments