Thu. Apr 25th, 2024

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न

काठमाण्डू, २०७९ चैत ५ गते आईतबार । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीमा बाहेक सबैमा मतदान सकिएको हो ।

केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । काठमाण्डौं उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपेक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपेक्षित रूपमा मत खसेको छ । ती क्याम्पसहरूमा निकै कम मत खसेको हो । आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ । कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ । मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस, थापाथली र पुल्चोक इन्जिनियरिङ क्याम्पस र धरानको केन्द्रीय प्रविधि क्याम्पसमा विद्युतीय मेसिन मार्फत मतदान भएको हो । ती क्याम्पसहरूमा केही समयमा नै मत परिणाम सार्वजनिक गरिनेछ । ती बाहेकका क्याम्पसहरूमा मध्यरातसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेका छन् ।

त्रिविका १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । जसअनुसार कोशी प्रदेशका २१ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएका छन् । बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५ वटा क्याम्पसमा निर्विरोध स्ववियु चयन भएका छन् । देशभरका अढाई सय क्याम्पसहरूमा स्ववियु निर्वाचन भएका छन् ।

Facebook Comments