Tue. May 7th, 2024

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्रीमा अनुमोदित

काठमाण्डू, २०७९ फागुन २८ गते आईतबार । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता ली छ्याङ चीनको नयाँ प्रधानमन्त्रीमा अनुमोदित हुनुभएको छ । १४औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशनले हिजो (शनिबार) बिहान ली छ्याङलाई चीनको नयाँ प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको हो ।

सो अनुमोदन लगत्तै चीनका राष्ट्राध्यक्ष सि चिनफिङले लीलाई आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त गर्न राष्ट्राध्यक्षको आदेशमा हस्ताक्षर गर्नुभएको थियो । सो समारोहमा चाओ लची, वाङ हुनिङ, हान चङ, छाई छि, तिङ स्वेस्याङ र ली सी लगायतका उच्च नेताहरुको उपस्थिति रहेको थियो ।

सन् १९५९ मा जन्मनु भएका प्रधानमन्त्री ली ले १९८३ को अप्रिल महिनामा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएपछि उहाँले पार्टीको केन्द्रीय स्कुलमा कार्यकारी एमबीए डिग्री लिएर स्नातक शिक्षा प्राप्त गर्नुभयो । उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य र राज्य परिषद्को प्रमुख पार्टी सदस्य समूहका सचिव पनि हुनुहुन्छ ।

चाईना मिडिया ग्रुपका अनुसार सोही बैठकले १४औँ चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिमा १ सय ५९ जनालाई निर्वाचित गरेको छ । यसैबीच नवनियुक्त प्रधानमन्त्री लीले संविधान र जनताप्रति वफादार रहने सार्वजनिक वाचा समेत गर्नुभएको छ ।

Facebook Comments