Sat. May 4th, 2024

सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्राध्यक्ष पदमा निर्वाचित

काठमाण्डू, २०७९ फागुन २६ गते शुक्रबार । सी चिनफिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्राध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।

चीनको राजधानी पैचिङमा जारी १४ औं राष्ट्रिय जनकंग्रेसको पहिलो अधिवेशनबाट सर्वसम्मतिले सी राष्ट्राध्यक्षमा आज निर्वाचित हुनु भएको हो । जनवृहत सभा भवनमा उपस्थित राष्ट्रिय जनकंग्रेसका झण्डै ३ हजार प्रतिनिधिहरुले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्राध्यक्षमा निर्वाचित गरेको चाईना मिडिया ग्रुपले जनाएको छ । राष्ट्रिय जनकंग्रेसका प्रतिनिधि, उच्चपदस्थ सरकारी अधिकारी, सेना तथा प्रहरीका उच्च अधिकारी र विश्वका विभिन्न देशका सञ्चार माध्यमहरुका प्रतिनिधिहरुको उपस्थितीमा सीले मुलुकको संविधान र जनताको नाममा सपथ लिनुहुँदै मुलुकको संविधान र जनताप्रति प्रतिवद्ध भएर सेवा गर्ने प्रण गर्नुभएको छ ।

उहाँले माओ चतोङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाउनु भएको छ । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

यसैबीच अमेरिकी समाचार समिति एशोशिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित हुनुभएको टिप्पणी गरेको छ । उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सिपिसीको महासचिव बन्नुभएको हो । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उहाँ सत्तासिन हुनुभएको हो ।

गोप्यरुपमा भएको निर्वाचनमा उम्मेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । यद्यपि ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए ।

Facebook Comments