Wed. Apr 17th, 2024

सुरुङमार्गको अध्ययनका लागि काठमाण्डू  विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच सम्झौता   

धुलिखेल, २०७९ फागुन १८ गते बिहीबार । काभ्रेपलाञ्चोकस्थित ढुङ्खर्क-च्याम्राबेंसी सुरुङमार्गको प्राविधिक अध्ययनको जिम्मा बेथानचोक गाउँपालिकाले काठमाण्डू विश्वविद्यालयलाई दिएको छ ।

बुधबार (हिजो) काठमाण्डू विश्वविद्यालयको प्राङ्गणमा एक कार्यक्रममा दुवै निकायबीच तीनबुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सुरुङमार्गले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ र ४ वडा जोड्नेछ ।

सम्झौताअनुसार काठमाण्डू विश्वविद्यालयले सुरुङमार्गस्थलको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको सम्भावित डिजाइन र अनुमानित लगानीसमेतको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन पेस गर्नेछ ।

सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति भोला थापा र गाउँपालिकाको तर्फबाट अध्यक्ष भगवान अधिकारीले हस्ताक्षर गर्नुभएको थियो । समझदारीपत्रमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने विषय उल्लेख गरिएको छ ।

सुरुङको लम्बाइ एक देखि एक दशमलव पाँच किलोमिटरसम्म हुने अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष अधिकारीले बताउनुभयो । सुरुङमार्ग निर्माणका लागि गाउँपालिकाले रु १० लाख विनियोजन गरेको समेत अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बेथानचोक-४ को सेती भिरमा समय समयम गइरहने सुक्खा पहिरोबाट हुने सडक बन्दको दिगो समाधानका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

सो अवसरमा काठमाण्डू विश्वविद्यालयका उपकुलपति थापाले समृद्ध मुलुक निर्माणकै लागि विश्वविद्यालय स्थानीय निकायसँग सहकार्य गरी काम गर्न तयार रहेको जनाउनुभयो । सुरुङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला हुने बताउँदै तीव्र गतिमा प्रभावकारी अध्ययन गर्न इञ्जिनीयरलाई निर्देशन दिनुभयो ।

कामर्यक्रममा विश्वविद्यालयका रजिस्टार प्रा डा अच्युतकुमार वाग्लेले दक्ष जनशक्ति उत्पादन गरी स्थानीयस्तरमा समेत अध्ययन गर्ने गरी काम प्रारम्भ भएको बताउनुभयो । कार्यक्रममा विश्वविद्यालयका डीन, सहायक डीन, गाउँपालिकाका प्र्रमुख उपप्रमुखलगायतको उपस्थिति थियो । रासस

Facebook Comments