Thu. May 2nd, 2024

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन   

फायल फोटो

सिरहा, २०७९ फागुन १५ गते सोमबार । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा-सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

यहाँस्थित कमला पुलको आज स्थलगत निरीक्षण गर्ने क्रममा उहाँले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिनुभएको हो । “निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ । बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हुँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भन्नुभयो, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पु-याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हुँदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षणका लागि आउनुभएको हो । यस क्रममा उहाँले १२ वर्षसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुललाई गुणस्तरीय ढङ्गले र निर्धारित समयमै सम्पन्न गर्ने गरी प्राविधिक टोलीसहित कमला पुलको निरीक्षण गर्न आएको पनि जानकारी दिनुभयो ।

उच्च स्तरको सरकारी अनुगमन तथा निरीक्षण भए पनि स्थानीय जनता भने समयमै पुलको काम सकिन्छ भन्नेमा विस्वस्त छैनन् । “मन्त्रीज्यू निरीक्षणमा आउनुभएको राम्रो हो तर औपचारिकताका लागि मात्र नहोस्”, सिरहा नगरपालिका-७ का कपिलदेव यादव भन्नुहुन्छ, “पुल निर्माण सुरु भएको १२ वर्षसम्म कति मन्त्री आए, गए तर जनताको समस्या जहाँको त्यहीँ । अब त जनताको आश पनि मरिसक्यो ।”

सञ्चालन नहुँदै २० महिनाअघि भासिएको हुलाकी सडकको मेरुदण्ड र मधेस प्रदेशको लाइफलाइनका रुपमा रहेको यो पुल अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०६८ सालमा शिलान्यास भई निर्माण थालिएको पुल २०७८ साल असार १७ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पायर जमिनमा भासिएको थियो । त्यसको चार महिनापछि कात्तिक ३ मा पुलको धनुषातर्फबाट तेस्रो पायर पनि भासियो । त्यसले सिरहा र धनुषालाई छोटो दूरीमा जोड्ने सपना तत्कालका लागि तुहियो । पुल पुनर्निर्माणका लागि हुलाकी सडक सङ्घर्ष समिति बनाएर पटक पटक आन्दोलन र दबाबका कार्यक्रम पनि भइरहेका छन् ।

पुल भासिएको यतिका समयसम्म पनि कुनै निकायबाट वास्ता नहुँदा सिराहा, सप्तरी र धनुषाका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीयको गुनासो रहेको छ । रासस

Facebook Comments