Mon. Jul 1st, 2024

कोरोना संक्रमणबाट मृतकको संख्या तीन हजार पुग्यो

काठमाडौं, २०७६ फागुण १९ गते सोमबार

कोरोना भाइरसको संक्रमणले विश्वब्यापी रुपमा तीन हजारभन्दा बढी जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९० प्रतिशतभन्दा बढी चीनको हुवेइ प्रान्तका रहेका छन् । जहाँबाट भाइरसको उत्पत्ति भएको अनुमान गरिएको छ ।

इटालीमा मात्रै मृत्यु हुनेको संख्या ३० पुगेको छ । इरानमा मृतकको संख्या दुई सयबढी रहेको बताइएपनि ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्वमा ९० हजार ब्यक्तिभन्दा बढीमा संक्रमण पाइएको छ । चीनभित्र संक्रमण फैलिएको दरभन्दा चीन बाहिर संक्रमित हुनेको दर बढ्दै गएको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको मृत्युदर दुई देखि पाँच प्रतिशत रहेको जनाएको छ । चीनमा कोरोना संक्रमितको संख्या घट्दै जाँदा विश्वका अन्य राष्ट्रमा भने उक्त संक्रमणको दर बढ्दैछ । इटालीमा कोरोना संक्रमणले ३४ जनाको मृत्यु भएको छ । पछिल्लो ४८ घण्टामा संक्रमितको संख्या दोब्बर भएको छ । आइतबार इटालीमा संक्रमितको संख्या एक हजार ६९४ पुगेको छ ।

बेलायतमा संक्रमितको संख्या ३६ छ । प्रधानमन्त्री बोरिस जोन्सोनले सोमबार कोब्रा कमिटिको आकस्मिक बैठक बोलाउनुभएको छ । सोमबार कोरियामा संक्रमितको कुल संख्या चार हजार २१२ रहेको पुष्टि भएको छ । कोरियामा कोरोनाको संक्रमणले हालसम्म २६ जनाको मृत्यु भएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments