Wed. Jul 3rd, 2024

क्वारेन्टाइनबाट सबैलाई धन्यवाद भन्दै विदा भए १५७ जना नेपाली

काठमाडौं, २०७६ फागुण १९ गते सोमबार

चीनको वुहानबाट उद्धार गरी भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १५७ जना सोमबार घर फिर्ता भएका छन् ।

फिर्ता हुन अघि अायोजित औपचारिक समारोहमा क्वारेन्टाइनमा बसेकाहरूले राम्रो व्यबस्थापनका लागि सरकार तथा सेनालाई विशेष धन्यवाद दिएका थिए ।
भक्तपुरको मौसम केही धुम्मिएर हल्का वर्षा भए पनि घर फर्कन पाउँदा सबैको मुहार उज्यालो भएको थियो ।

नेपालीहरूको उद्दारका लागि गएका पाइलट लगायतका १८ जनामा पनि कोरोना भाइरस संक्रम नदेखिए पछि आइतबार नै घर फिर्ता गरिएको थियो । नेपाल ल्याइएका १ सय ७५ जना मध्ये कसैलाई पनि कोरोनाको संक्रमण नभएको स्वास्थ्य परीक्षणबाट पुष्टि भए पछि घर फिर्ता गरिएको हो । खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिनुभयो ।

खरिपाटी क्वारेन्टाइनमा रहेका १ सय ५७ जना र ७ जना स्वास्थकर्मीलाई स्वास्थ्य राज्यमन्त्री नवराज रावत, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र लगायतले विदाई गर्नुभएको थियो ।

क्वारेन्टाइनमा रहेका र उपचारमा खटिएका चिकित्सको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको स्वाबको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाइएको थियो ।

औपचारिक विदाइ भए पनि आजै घर जान नसक्ने र उपत्यका बाहिरकालाई भने क्वारेन्टाइमा नै बस्ने ब्यबस्था मिलाइएको बताइएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments