Sat. May 18th, 2024

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका साथै कनेक्टिभिटी, ऊर्जा व्यापारलगायत द्विपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा राष्ट्रपति भण्डारीले नेपाल–भारतबीच प्राचीनकालदेखि नै सामाजिक र सांस्कृतिक सम्बन्ध रही आएको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धका विविध विषयमा कुरा राख्नुभएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले ‘छिमेकी पहिलो’ भन्ने नीतिअनुसार नै भारत अघि बढेको विश्वास व्यक्त गर्दै आफ्ना भारतीय समकक्षी र भारतीय उच्च नेतृत्वप्रति शुभकामना र शुभेच्छा प्रकट गर्नुभएको थियो ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो । यस अघि उहाँले आजै परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो भने सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Facebook Comments