Sat. Nov 23rd, 2024

बालाजु-नयाँ बसपार्क क्षेत्र तनावग्रस्त: प्रहरीका दुईवटा गाडीमा क्षति, अस्थायी प्रहरी विट जलाइयो   

काठमाण्डू, २०७९ फागुन १ गते सोमबार । यातायात मजदुरहरुको आन्दोलनका कारण काठमाण्डूको नयाँ बसपार्क र बालाजु क्षेत्र आज तनावग्रस्त बनेको छ ।

सवारीसाधन कारबाही गरेवापत ट्राफिक प्रहरीले लिने शुल्क बढाएको भन्दै यातायात मजदुरले गरेको आन्दोलनका कारण बालाजु-नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो । सवारी जरिवानावापत ट्राफिक प्रहरीले लिँदै आएको चर्को शुल्क खारेज गर्नुपर्ने, निलम्बित लाइसेन्स फुकुवा गर्नुपर्ने, भौतिक पूर्वाधार पार्किङ पिक एण्ड ड्रपको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर आज दिउँसोदेखि गरेको आन्दोलनले साँझमा उग्ररुप लिँदा बालाजु-नयाँ बसपार्क क्षेत्र तनावग्रस्त बनेको हो ।

फोटो : सामाजिक सञ्जाल

नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनलगायतको नेतृत्वमा आज दिउँसोदेखि नयाँ बसपार्क, माछापोखरी, बालाजुलगायतका स्थानमा सार्वजनिक बस बाटोमा तेस्र्याएर आन्दोलन गरिएको थियो । नयाँ बसपार्कदेखि गोँगबु चोकसम्मको मुख्य सडकबाट सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाण्डू महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनका कारण काठमाण्डूबाट छुट्ने लामो दुरीका गाडी पनि छुट्न पाएनन् । प्रहरीले बाटो खुलाउन पटक पटक बल प्रयोग गर्दा नयाँ बसपार्क, माछापोखरी क्षेत्रमा झडप भएको छ । झडपमा प्रहरीले अशृ ग्यास र लाठीचार्ज गरेको छ भने यातायात मजदुरले ढुङ्गा हानेका छन् । अप्रत्याशित रुपमा सुरु भएको आन्दोलनको मार भने सर्वसाधारण र यात्रुहरुले भोग्न्ु परेको छ । राती अवेरसम्म पनि सवारी नचल्दा गन्तब्यमा पुग्नुपर्ने यात्रुहरुको कन्तविजोग भएको छ ।

उक्त सडक क्षेत्र अहिले चिनियाँ कम्पनीले विस्तार गर्दैछ । व्यक्तिको निजी जग्गाबाट सञ्चालन हुँदै आएका उक्त बस तथा माइक्रोबसलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न खोज्दा त्यहाँका व्यवसायीले असहमति जनाएका थिए । मजदुर र व्यवसायीको आन्दोलनले साँझपख उग्ररुप लिँदा प्रहरीमाथि ढुङ्गा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका कार्य गरिएको थियो । आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी विटमा आगो लगाउनुका साथै प्रहरीको दुई वटा भ्यानमा आगो लगाएका थिए ।

काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठ आन्दोलनका क्रममा बालाजु चोकमा रहेको नेपाल प्रहरीको अस्थायी पोष्टमा क्षति पु-याउनुका साथै दुई वटा प्रहरीको भ्यानमा आगो लगाएर क्षति पु-याएको बताउनुहुन्छ ।

आन्दोलनका क्रममा १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी घाइते भएको बताइएको छ । साँझपख तनावग्रस्त भएको बालाजु नयाँ बसपार्क क्षेत्रमा अहिले भने सवारी साधन सञ्चालन हुन सुरु भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट ऐन र नियमअनुसार नै ट्राफिक जरिवाना गर्दै आएको बताउनुहुन्छ । “पहिलोपटक ट्राफिक प्रहरीको कारबाही पर्नेलाई रु ५००, दोस्रोपटक कारबाही पर्नेलाई रु १ हजार र तेस्रोपटकभन्दा माथि कारबाही पर्नेलाई रु १ हजार ५ सय जरिवाना लिँदै आएका छौँ”, उहाँ भन्नुहुन्छ ।

Facebook Comments