Tue. May 14th, 2024

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

काठमाण्डू, २०७९ माघ २७ गते शुक्रबार । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा पर्नुभएको छ ।

गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै महाप्रबन्धक ठाकुरलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । सो सामग्री जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो । सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो । केही दिन पहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।

Facebook Comments