Tue. May 14th, 2024

भू-परिवेष्ठित मुलुकबाट भू-जडित देशमा परिणत हुने नेपालको सपना पूरा हुँदै गएको छ : राजदूत छन सोङ

भिओके समाचार/काठमाण्डू, २०७९ माघ २७ गते शुक्रबार । नेपालका लागि चिनियाँ राजदूत छन सोङले भू-परिवेष्ठित मुलुकबाट भू-जडित देशमा परिणत हुने नेपालको सपना पूरा हुँदै गएको बताउनु भएको छ ।

नेपाली पर्यटन व्यवसायीहरुका लागि पाँचौं चिनियाँ भाषा प्रशिक्षण कक्षाको उद्घाटन समारोहलाई आज काठमाण्डौंमा सम्बोधन गर्नुहुँदै राजदूत छन सोङले सो विचार व्यक्त गर्नुभएको हो । चीन र नेपालबीचको मित्रताको इतिहास लामो र मैत्रीपूर्ण रहेको भन्दै राजदूत छन सोङले ‘बेल्ट एण्ड रोड’ को उच्च गुणस्तरको संयुक्त निर्माणले निरन्तर प्रगति गरेको बताउनु भयो । उहाँले चीन-नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन नयाँ चरणमा पुगेको जानकारी दिनुभयो ।

राजदूत छन सोङले हिमालय पार त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माणको कामलाई तीव्रता दिइएको पनि बताउनु भयो । राजदूत छन सोङले सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा बसन्त ल्याउने ढंगले चिनियाँ पर्यटकहरु आउने बताउनु हुँदै यत्तिवेलै निराश नहुन पनि पर्यटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले चिनियाँँ पर्यटक घुम्न जान पाउने २० वटा देशहरुमा नेपालको नाम समावेश नभएको गुनासो गर्नुहुँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउन चिनियाँ पर्यटकहरुलाई नेपाल पठाउन चिनियाँ राजदूतमार्फत चीन सरकारलाई आग्रह गर्नुभयो ।

नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा ५ वर्षभित्रमा २०० जना नेपालीलाई चिनियाँ भाषा तालिम दिने सम्झौतामा भएको र सोही सम्झौता अनुसार पाँचौं चिनियाँ भाषा तालिमको शुरुवात गर्न लागिएको जानकारी दिनुभयो । डा. साहले नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद् स्थापना कालदेखि नै नेपाल र चीनबीचको सम्बन्धलाई शैक्षिक तथा साँस्कृतिक क्षेत्रबाट अघि बढाउन लागिपरेको बताउनु भयो ।

चिनियाँ भाषा कक्षाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपालका लागि चिनियाँ राजदूत छन सोङले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।

Facebook Comments