Tue. May 14th, 2024

टर्की र सिरियामा गएको महाभूकम्पमा परी हालसम्म २१ हजार भन्दा धेरैको ज्यान गयो

काठमाण्डू, २०७९ माघ २७ गते शुक्रबार । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको ज्यान गएको छ भने दशौँ हजार घाइते भएका छन् ।

टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीले तत्काल आफ्नो आपत्कालीन कोषबाट तत्काल नगद सहायता परिचालन गर्ने बताएको छ । सिरिया र टर्कीका भूकम्प पीडितको सहयोगका लागि उक्त रकम निकासा गरिने सोसाइटीले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय सहायता निकाएका छ वटा विशाल जहाज राहत सामग्री लिएर टर्कीएको सिमाना पार गरेर सिरिया पुगेका छन् । यो सहायता सिरियाका लागि पहिलो अन्तर्राष्ट्रिय सहयोग हो ।

टर्कीका केही प्रभावित क्षेत्रमा पानी, इन्धन र बिजुली नहुँदा अझ धेरैको ज्यान जानसक्ने चिन्ता विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यसैबीच, सिरियाको उत्तर पश्चिममा रहेको भूकम्प प्रभावित क्षेत्रमा पहिलोपटक राहत सामग्री पुगेको छ । विद्रोहीको कब्जामा रहेको उत्तर पश्चिम क्षेत्रमा संयुक्त राष्ट्र सङ्घले ४ वटा लरीमार्फत् राहत सामग्री पठाएको खबरमा उल्लेख छ । यसअघि विद्रोही समूहले अनुमति नदिँदा र सडक भत्किएका कारण भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुग्न सकेको थिएन ।

टर्कीमा उद्धार र राहतको कामले केही तीव्रता पाए पनि सिरियामा भने अवस्था निकै दयनीय रहेको छ । यसैबीच, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले टर्की र सिरियामा भूकम्पपछिको स्वास्थ्य सङ्कटको चेतावनी दिएको छ । शवको उचित व्यवस्थापन नहुनु, स्वच्छ खाना र पानीको अभाव र माइनसमा रहेको तापक्रममा पनि उचित बासस्थान र ऊर्जा नहुँदा स्वास्थ्य सङ्कट आउन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो । गम्भीर सङ्कट आउनुअघि नै गास, बास र कपासको उचित व्यवस्थापनमा लाग्न डब्ल्यूएचओले सुझाव दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस सिरिया जाँदै हुनुहुन्छ । उहाँले सिरियाको अत्यावश्यक स्वास्थ्य सेवालाई सहयोग पुर्याउन पहल आवश्यक रहेकाले आफू सिरियाको यात्रामा रहेको ट्विटमार्फत् उल्लेख गर्नुभएको छ ।

फेब्रुअरी ६ देखि यता टर्कीमा ४ भन्दा बढी म्याग्निच्युडका १०० भन्दा बढी परकम्प गएको छ । सोमबारदेखि यता दक्षिणपूर्वी टर्कीमा कम्तीमा ८१ वटा पराकम्पन महसुस गरिएको छ । टर्कीमा म्याग्निच्युड-४ को २०, म्याग्निच्युड-५ को ३ र २ म्याग्निच्युडको ७ भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

Facebook Comments