Wed. Dec 25th, 2024

किबीबाट जाम उत्पादन सुरु   

खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् ।

उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिनुभयो । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा पाँच सय ग्रामको रु तीन सय र सात सय ग्रामको रु चार सयमा बिक्री गर्ने गरिएको छ ।”

जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिनुभयो ।

गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रु २५ लाख बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा रु पाँच लाख लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किबी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रति केजी रु. दुई सय ५० मा फार्मबाटै जिल्ला बिक्री हुँदै आएको छ ।

जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई तथा राजधानी काठमाडौँमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् । रासस

Facebook Comments