Sun. Apr 13th, 2025 12:35:23

पोखरा हवाई दुर्घटना :अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या   

काठमाण्डौं, २०७९ माघ ९ गते सोमबार ।  पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाण्डौं ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ ।”

उहाँका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताउनुभयो । डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

फरेन्सिक जाँचका लागि काठमाण्डौं ४८ शव ल्याइएको थियो । यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाण्डौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । रासस

Facebook Comments