Fri. Apr 19th, 2024

सोनाम ल्होछार आज, तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

- मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु

काठमाण्डौं, २०७९ माघ ८ गते आईतबार । आज सोनाम ल्होछार पर्व देशरका तामाङ समुदायले विविध कार्यक्रमहरुको आयोजना गरी मनाउँदैछन् ।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज मनाउन लागिएको हो। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ । आजदेखि बाघ वर्ग (वर्ष) पूरा गरी बिरालो वर्ग (वर्ष)मा प्रवेश गरेको मानिन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । ल्होछारमा विभिन्न गुम्बा, घर-घरमा पूजा गरी घरघरलगायत सार्वजनिक स्थानमा दर्ज्यू गाड्ने, छो प्रसाद वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र भेटघाट र सामूहिक भोज तथा साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् । ल्होछारको अवसरमा आज काठमाण्डौंको टुँडिखेलमा विषेश कार्यक्रम हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नुहुनेछ । त्यसअघि सांस्कृतिक भेषभूषासहितको र्‍याली निकालिने ल्होसार मूल समारोह समितिका संयोजक कुमारसिं घिसिङले जानकारी दिनुभयो ।

नेपाल तामाङ घेदुङ विराटनगर महानगर समितिका पूर्वअध्यक्ष ध्रुव तामाङले भ्वाइस अफ काठमाण्डौंलाई दिनु भएको जानकारी अनुसार विराटनगरको सिंगिया खोलास्थित हरियाली पार्कमा आज विविध धार्मिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि सोनाम ल्होछार पर्व मनाईने कार्यक्रम रहेको छ । तामाङले सो कार्यक्रममा सहभागी हुन सम्पूर्ण नगरवासीहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ ।

यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

Facebook Comments