Sat. May 18th, 2024

सुत्केरीको हवाई उद्धार   

मान्म, २०७९ पुस ३० गते शनिबार । कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

रास्कोट नगर अस्पतालमा सुत्केरी हुनुभएकी रास्कोट नगरपालिका-८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिनुभयो । “अस्पतालमा शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण आमा र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ”, उहाँले भन्नुभयो, “अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको खबर पाएका छौँ ।”

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगरप्रमुख शाहीले जानकारी दिनुभयो । “नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो”, उहाँले भन्नुभयो, “राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै बेहोर्ने छ ।”  रासस

Facebook Comments