Fri. May 17th, 2024

पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने

काठमाण्डौं, २०७९ पुस ३० गते शनिबार । पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ ।

 

नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहनुभएका आचार्यको करिब १ सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारको रु. ५० लाखको लगानीमा सङ्ग्रहालय बनाउने योजना अघि बढाइएको हो । टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वआर्थिक मामिलामन्त्री वैजनाथ चौधरीले आचार्यको घर निकै जिर्ण रहेको र जीर्णोद्वार गर्न असम्भव रहेको जानकारी दिनुभयो । जीर्ण बनेको उक्त घरलाई २०७२ सालमा गएको भूकम्पले थप क्षति गरेपछि स्थानीयले संरक्षण गर्न माग गर्दै आएका थिए । स्व.आचार्यको घर परासीको गौरव भएकाले सङ्ग्रहालयका रुपमा परिणत गर्ने योजना अघि बढाइएको चौधरीको भनाइ छ ।

रासस का अनुसार प्रदेशसभा सदस्य वैजनाथ जैसवालले पुरातत्व विभागसँग समन्वय गरेर काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व. आचार्यको घरको जीर्णोद्धार गर्न जरुरी भएको उल्लेख गर्दै आवश्यक परे थप बजेटका लागि प्रदेश सरकारसँग पहल गर्ने बताउनुभयो । स्व. आचार्यको जन्म विक्रम सम्वत १९६९ मा भएको थियो । उहाँको २०४५ सालमा निधन भएको थियो । टङ्कप्रसाद आचार्य २०१२ सालमा नेपालको प्रधानमन्त्री बन्नुभएको थियो ।

Facebook Comments