Fri. May 17th, 2024

चिसोका कारण जुम्लाको जनजीवन प्रभावित

जुम्ला, २०७९ पुस १७ गते आईतबार ।  हिमाली जिल्ला जुम्ला लगायतका स्थानहरुमा चिसोले जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै स्थानीयबासीमा रुघा, खोकीको संक्रमण बढिरहेको छ । एक सातादेखि बढेको चिसोले जनजीवन प्रभावित भएको हो ।

चिसो बढेपछि जिल्लाको अस्पतालमा बिरामीको संख्या बढेको छ । अस्पतालमा चिसोको कारण दम, रुघा, खोकी र कोल्ड डाइरीयाका बिरामीको संख्या बढेको कर्णाली स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा. राजेन्द्रमणि गिरीले बताउनुभयो । सामान्य अवस्थामा एक सय बिरामी आउने गरेकोमा अहिले दैनिक २ सय ९० बिरामी आउने गरेको उहाँको भनाइ छ ।

लगातार बढिरहेको चिसोबाट सुत्केरी, बालबालिका र बृद्धाहरु बढि प्रभावित भएका डा. गिरीले बताउनुभयो । चिसो ह्वात्तै बढेको कारण जुम्लाको जनजीवन कष्टकर बन्दै गएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात र अधिकमत तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोबाट जोगिन दाउरा सङ्कलन गर्ने गरेको यहाँका स्थानीयवासी बताउँछन् । रासस

Facebook Comments