Fri. May 17th, 2024

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद   

सप्तरी, काठमाण्डौं, २०७९ पुस ८ गते शुक्रबार । यहाँको राजविराज नगरपालिका-१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित जन्म कैद सजाय गरेको अदालतले जनाएको छ ।

राजबिराज नगरपालिका-१ रामपुर टोल घर भई सोही वडाको पडरिया टोलस्थित दीपेन्द्र यादवको घरमा डेरा गरीबस्ने दम्पतिबीच आपसी विवाद हुँदा ४० वर्षीया पत्नी गीतालाई हिरालालले हत्या गरेका थिए ।

राजविराज नगरपालिका-१ स्थित प्राङ्गरिक मल बनाउने निर्माणाधिन खुल्ला भवनको प्यासेजभित्र गीताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा गत मङ्सिर १० गते शव फेला परेको थियो । आरोपित मङ्सिर १० गते नै पक्राउ परेका थिए ।

मृतकका बाबु गजानन्द रजकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा मङ्सिर १० गते किटानी उजुरी दिनुभएको थियो । आरोपितले जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालयका साथै जिल्ला अदालतसमेतमा हत्या गरेको स्विकार्दै साविती बयान गरेपछि अदालतमा अभियोगपत्र दायर भएलगत्तै फैसला गरिएको अदालतले जानकारी दिएको छ । रासस

Facebook Comments