Tue. Apr 30th, 2024

उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो   

नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार पौष कृष्ण औँसीका दिन श्राद्ध गर्न आएकाहरुको भीड । तस्बिरः नवदीप श्रेष्ठ, रासस

विदुर, २०७९ पुस ८ गते शुक्रबार । नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ । यो वर्ष पनि विगत्को वर्षभन्दा धेरै श्रद्धालुको भीड लागेको स्थानीय उत्तरगया क्षेत्र सरोकार समितिका अष्टमान डङ्गोलले बताउनुभयो ।

बेत्रावतीस्थित उत्तरगयाधाममा श्राद्ध गर्न आएकाको घुइँचो नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा शुक्रबार पौष कृष्ण औँसीका दिन श्राद्ध गर्न आएकाहरुको घुइँचो । कोरोना लगायत कारणले विगतका वर्षमा श्रद्धालुको सङ्ख्या कमी भए पनि यो पटक भने श्राद्ध गर्नेको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । तस्बिरः नवदीप श्रेष्ठ, रासस

“विगत्का वर्षमाभन्दा यो वर्ष धेरै श्राद्ध गर्न आएका छन् । कोरोनालगायतका कारणले घटेको श्राद्ध गर्नेको सङ्ख्या यो वर्ष निकै बढेको छ”, डङ्गोलले भन्नुभयो ।

त्रिशूली नदी, फलाखु र सलाखुसमेतको दोभान रहेको बेत्रावतीमा पितृमोक्षको लागि पिण्डदान गर्न नेपालमात्र होइन भारतबाटसमेत श्रद्धालु आउने गरेको स्थानीय सुरज लबटले बताउनुभयो ।

सत्ययुगमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरेका शिवजीको घाँटीमा अड्किएको हुँदा डाहा मार्न बेतको लौरी खोपेर पानी खाएका कारण बेत्रावती नाम रहन गएको धार्मिक विश्वास रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र उत्तरगयामा पौसे औँसीमा गरिने श्राद्ध, पिण्डदान र तर्पण गर्दा पितृले मोक्ष प्राप्त गर्ने विस्वास गरिन्छ । सूर्य दक्षिणायनको अन्तिम औँसीमा श्राद्ध गर्दा पितृ खुशी हुने भएकोले श्राद्ध गर्न घुइँचो लागेको एक दशकदेखि श्राद्ध गराउँदै आउनुभएका पुरेत नारायण अधिकारीले बताउनुभयो ।

यस क्षेत्रमा श्राद्ध गर्न भक्तजनको बिहानदेखि घुइँचो लागेको र दिनभर पनि त्रिशूली र फलाखु खोलाका किनारामा श्राद्धको भीड रहेको थियो । उत्तरगया क्षेत्रमा आएर वर्षेनि हजारौँ भक्तजनले आफन्त तथा बाबु आमाको नाममा श्राद्ध, दान, तर्पण गर्दै आएका छन् । रासस

Facebook Comments