Fri. Apr 26th, 2024

न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी छ : कामु प्रन्या कार्की   

न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा ‘न्याय परिषद्’ बुलेटिन सार्वजनिक गर्दै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की । तस्बिर : कालिका खड्का, रासस

काठमाण्डौं, २०७९ पुस ३ गते आईतबार । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिका लागि छुट्टै पाठ्यक्रमको व्यवस्था गर्न जरुरी भएको बताउनुभएको छ ।

न्याय परिषद्को ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले कानुनमा संशोधन गरेर भए पनि न्यायाधीश नियुक्तिका लागि पाठ्यक्रम बनाउनुपर्ने जरुरी भएको बताउनुभयो । “जुनसुकै तहको न्यायाधीश नियुक्तिका गर्न पनि एउटा कोर्ष पास गर्ने व्यवस्था गर्न जरुरी छ”, कामुप्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “कानुनमा संशोधन गरेर भए पनि यो काम गर्न जरुरी छ ।”

न्याय परिषद्ले ठोस प्रमाणका आधारमा मात्र न्यायाधीशलाई कारबाही, नियुक्तिका लागि सिफारिस गर्ने गरेको उल्लेख गर्दै उहाँले सर्वोच्च, उच्च अदालतमा न्यायाधीशको सङ्ख्या खाली भएको कारणले गर्दा मुद्दा फछ्र्यौटमा कठिनाइ भएको बताउनुभयो । “सर्वोच्च अदातलमा मुद्दाको चाङ धेरै छ, अहिले पाँच वर्ष नाघेका मुद्दा धेरै घटाइरहेका छौँ”, उहाँले थप्नुभयो, “इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्ने र घरमा गएर फैसला लेख्ने काम गरिरहेका छौँ ।”

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताको न्याय सेवाप्रति अलिकति पनि कमी आउन नदिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “न्याय सेवामा ढिलाइ भयो भन्ने गुनासो आइरहेको छ”, उहाँले भन्नुभयो, “जनतालाई न्याय दिन ढिलाइ गर्नुभएन ।”

रासस का अनुसार महान्यायाधीवक्ता खम्मबहादुर खातीले न्यायाधीश नियुक्तिका लागि एउटा पाठ्यक्रम तयार गरी योग्य, दक्ष र कर्मठ न्यायाधीश न्याय सम्पादनका लागि नियुक्ति गर्नुपर्ने बताउनुभयो । उहाँले न्यायाधीशलाई कारबाहीको प्रक्रिया पनि लम्व्याउने नहुनेमा जोड दिनुभयो । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको समग्र सुधारका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा यस वर्षका उत्कृष्ट न्यायाधीशकारुपमा उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश रमेशकुमार खत्री र दोलखा जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई कामु प्रधानन्यायाधीश कार्कीले सम्मान गर्नुभएको थियो । उक्त अवसरमा कामु प्रधानन्यायाधीश कार्कीले न्याय परिषद् बुलेटिन बिमोजन समेत गर्नुभएको थियो । न्याय परिषद्ले प्रत्येक पुस ३ गते न्याय परिषद् दिवस मनाउने गरेको छ ।

Facebook Comments