Tue. Dec 24th, 2024

शतप्रतिशत नतिजा सहित सुदुरपश्चिम फाइनलमा

काठमाण्डौं, २०७९ मंसिर १६ गते शुक्रबार । अपराजित यात्रालाई कायमै राख्दै सुदुरपश्चिम प्रदेश यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । मुलपानी क्रिकेट मैदानमा खराव आउट फिल्डका कारण ढिला सुरु भएको खेल ४५ ओभरमा छोट्टयाईएको थियो । बागमतीले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य लक्ष्य सुदुरपश्चिमल १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो ।

सुदुरपश्चिमको जितमा कप्तान अनुराग सिंहले अविजित ३९ रनको इनिङ खेल्नु भयो । मिलन बोहोराले ३३ जोड्दा गजेन्द्र बोहोरा १९ रनमा अविजित रहनु भयो ।

बागमतीका लागि रोसन विकले २ तथा प्रतिक श्रेष्ठले १ विकेट लिनु भयो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २८.४ ओभरमा सबै विकेट गुमाउदै १ सय २४ रन मात्र जोड्न सक्यो ।

बागमतीका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको ईनिङ खेल्दा रोशन विक ३६ रनमा अविजित रहनु भयो । सक्षम बस्ताकोटीले ३३ रनको योगदान दिनु भयो । बागमतीका ७ खेलाडीले खाता खोल्न सकेनन् ।

सुदुरपश्चिमका आकाश चन्दले ह्याट्रिक सहित ४ विकेट लिनु भयो । हेमन्त धामीले ३ विकेट लिनु भयो । समूह चरणका सबै ६ खेल जितेको सुदुरपश्चिम १२ अंक सहित तालिकाको शीर्ष स्थानमा रहदै फाइनल प्रवेश गरेको छ । लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ जित सहित ८ अंक जोडेर तेस्रो स्थानमा छ । समान अंक जोडेको लुम्बिनी नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ ।

लुम्बिनीले अन्तिम खेल मधेशविरुद्ध टियु मैदानमा खेल्नेछ । लुम्बिनी उक्त खेलमा विजयी भए फाइनल खेल्नेछ । लुम्बिनी पराजित हुँदा भने बागमती फाइनलमा पुग्नेछ । लुम्बिनी झिनो अन्तरको हारले भने फाइनलमा पुग्न सक्ने समिकरण छ । ठूलो अन्तरको हारले भने लुम्बिनी बाहिरिनु पर्ने हुन्छ ।

Facebook Comments