Wed. Dec 25th, 2024

च्याङ चमिनप्रति चिनियाँ सञ्चारमाध्यमको अपार प्रेम, सम्पूर्ण अखवार र अनलाइनको प्रकाशन श्यामश्वेत

रमेश हतुवाली/काठमाण्डौं, २०७९ मंसिर १६ गते शुक्रबार । चीनका पूर्वराष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो पुस्ताका अग्रज नेता च्याङ चमिनको निधनको शोकमा चीनबाट प्रकाशन गरिने सम्पूर्ण सरकारी तथा निजी अखवार र अनलाइनको प्रकाशन श्यामश्वेत (Black and White) मा गरिएको छ ।

चीनको औद्योगिक महानगर शाङ्हाईमा बुधबार ९६ वर्षको उमेरमा भएको पूर्वराष्ट्रपति च्याङ चमिनको निधनको शोकमा ग्लोबल टाइम्स, सिन्ह्वा न्यूज अनलाइन, चाइना मिडिया ग्रुपका सम्पूर्ण अनलाइनहरूको प्रकाशन हिजो बिहीबारदेखि श्यामश्वेतमा प्रकाशन गर्न थालिएको हो । दशकौंदेखि निर्वाध रूपमा रंगीन प्रकाशनलाई पाठकसामु पुर्‍याइरहेका विश्वस्तरका चिनियाँ अखवार र अनलाइनहरूले पूर्वराष्ट्रपति च्याङ चमिनको निधनको शोकमा श्यामश्वेतमा प्रकाशन गरेका हुन् ।

चाइना मिडिया ग्रुपका नेपाली, अंग्रेजी, हिन्दी, बंगाली, उर्दू, रसियन लगायत ४४ वटा भाषाका अनलाइन पत्रिकाहरू पनि बिहीवारदेखि नै श्यामश्वेतमा प्रकाशन भएका छन् । सम्बन्धित क्षेत्रका विज्ञहरूले श्यामश्वेतमा आफ्ना प्रकाशनहरू आम पाठकसमक्ष प्रस्तुत गर्ने चिनियाँ सञ्चार माध्यमहरूको कार्यलाई ऐतिहासिक र पूर्वराष्ट्रपति च्याङ चमिनप्रतिको सम्मान भनी टिप्पणी गरेका छन् ।

यसैबीच चिनियाँ कम्युनिष्ट पार्टीका तेस्रो पुस्ताका अग्रज नेता तथा चीनका पूर्वराष्ट्रपति च्याङ चमिनको शव बिहीवार चीनको शाङ्हाई शहरबाट विशेष विमानद्वारा राजधानी पैचिङ पुर्‍याइएको छ। नेता च्याङ चमिनको शव पैचिङ पुर्‍याउँदा राष्ट्राध्यक्ष सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायतका राष्ट्रिय नेताहरू विमानस्थलमा उपस्थित हुनुभएको थियो । सो क्रममा उपस्थित नेताहरूले च्याङ चमिनका नातेदारहरूलाई सान्त्वना व्यक्त गर्नुभएको थियो ।

चाइना मिडिया ग्रुपका अनुसार च्याङ चमिनको सम्मानमा डिसेम्बर ६ तारिख बिहान १० बजे चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चिनियाँ राष्ट्रिय जन कंग्रेसको स्थायी समिति, चीनको राज्य परिषद्, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन र केन्द्रीय सैन्य आयोगले पैचिङस्थित जन बृहत् सभाभवनमा शोक तथा श्रद्धाञ्जलिसभाको आयोजना गर्ने कार्यक्रम रहेको छ । सोही दिन चीनका विभिन्न क्षेत्र, विदेशस्थित चिनियाँ राजदूतावासहरू र विश्वका विभिन्न देशहरूमा रहेका चिनियाँ संस्थानहरूले झण्डा आधा झुकाउने  भएका छन् ।

साथै डिसेम्बर ६ तारिख मंगलवार श्रद्धाञ्जलिसभामा मौनधारण हुँदा चिनियाँ जनताले पनि आ-आफ्नो स्थानबाट ३ मिनेटसम्म मौनधारण गर्ने भएका छन्।

Facebook Comments