Sun. May 19th, 2024

फिलिपिन्सको भूकम्पमा परी कम्तीमा ३६ जना घाइते

मनिला, २०७९ कात्तिक ९ गते बुधबार । उत्तरी फिलिपिन्समा मङ्गलबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३६ जना घाइते भएका छन् भने भवनहरूमा क्षति पुगेको बुधबार फिलिपिन्सको सेनाले जनाएको छ ।

सेनाको उत्तरी कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एल्मार साल्भाडोरले घाइतेहरू मुख्य लुजोन टापुको इलोकोस नोर्टे र अब्रा प्रान्तका रहेको बताउनुभएको छ । भूकम्पले कसैको ज्यान गएको छैन तर शताब्दी पुराना चर्ज, विद्यालय भवन र अस्पतालमा क्षति पुगेको उहाँले बताउनुभएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले प्रारम्भिक रूपमा ६ दशमलव ७ रिक्टर स्केलको भूकम्प गएको जनाएको थियो । लुजोनको अब्रा प्रान्तको टिनेग शहरबाट ७ किलोमिटर उत्तरपश्चिममा स्थानीय समय अनुसार रातीको १०.५९ मा २८ किलोमिटरको गहिराइबाट उक्त भूकम्प गएको बताए पनि त्यसको केही घण्टापछि उक्त संस्थानले भूकम्पको म्याग्निच्युडलाई ६.४ मा घटाएर अबरा प्रान्तको लगायान शहरबाट ७ किलोमिटर उत्तरपूर्वमा १३ किलोमिटर गहिराइमा आएको जानकारी दिएको थियो ।

संस्थाले ठूलो भूकम्पपछि ४०० भन्दा बढी परकम्पहरू रेकर्ड गरेको जनाएको छ । राजधानी मनिला क्षेत्र लगायत धेरै क्षेत्रमा भूकम्पको प्रभाव महसुस गरिएको थियो । सुतिरहेका वा सुत्न लागेका मानिसहरू हतार हतार घरबाट बाहिर निस्केका स्थानीय रिपोर्टरहरूले जनाएका छन् ।

गत जुलाइमा अब्रा प्रान्तमा ७.० म्याग्निच्युडको भूकम्प जाँदा कम्तिमा चार जनाको ज्यान गएको थियो भने १३० जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पकै कारण गएको पहिरोले भवनहरूलाई क्षति पुर्‍याएको थियो ।

प्रशान्त महासागरको “रिंग अफ फायर” नजिकै फिलिपिन्स रहेको कारण बारम्बार भूकम्पीय गतिविधि उक्त राष्ट्रमा भइरहन्छ । एजेन्सी

Facebook Comments